‘मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध’
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताउनुभयो ।
उहाँले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भौगोलिक क्षेत्र भएको बताउँदै काँग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको उल्लेख गर्नुभयो ।
नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो । जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेकाहरूलाई मन्त्री कार्कीले फूलमाला र अबिर लगाएर स्वागत गर्नुभयो ।
‘अर्थतन्त्रबारे भ्रम पार्न खोजियो’
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–२ स्थित नेपाल टेलिकमको कार्यालयले आयोजना गरेको ‘एफटीटीएस’ नेटवर्क विस्तार कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता नरहेको दाबी गर्नुभयो ।
मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो ।
सबैले एकताबद्ध प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सबल बनाउन सकिने मन्त्री कार्कीले बताउनुभयो । नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर सुनियोजित हल्ला चलाइएको उहाँको भनाई थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्