तपाईँ सुन्दै हुनुहुन्छः

१५ वर्षीया बालिका बेच्ने एक महिलासहित २ पक्राउ

वीरगञ्ज । भोजपुरी चलचित्रमा नायिका बनाइदिने प्रलोभन दिएर वीरगन्जकी १५ वर्षीया बालिकालाई भारत लगेर बेच्ने एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जकी १५ वर्षिया बालिकालाई भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका–२ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई भोजपुरी सिनेमाको नायिका बनाई दिने प्रलोभन दिएर चमेली देवी र रोशनले २०७८ फागुन १२ गते बिहारको पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर त्यहाँका एक भारतीय नागरिकलाई ३० हजार भारुमा बेचेर दुवै जना फरार भएका थिए ।

भारतीय नागरिकले ती बालिकालाई विभिन्न कार्यक्रममा अश्लील नृत्य गर्न लगाउने, कसैसँग सम्पर्क गर्न नदिई शारीरिक र मानसिक यातना दिई राखेका थिए ।

पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

बालिकालाई खरिद गर्ने व्यक्ति अहिले फरार रहेकोले उनको खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button