पहिलो पटक एम्बुलेन्स पाएपछि महाकुलुङबासी हर्षित

सोलुखुम्बु । विगतका वर्षहरूमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् । भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स पुगेपछि उपचारमा सहज हुने भन्दै स्थानीयमा खुसी छाएको हो ।
स्थानीय सुभधनी कुलुङले भन्नुभयो, पहिले डोको र स्ट्रेचरमा बिरामी बोकेर उपचारका लागि लैजानुपर्ने अवस्थामा एम्बुलेन्स आउँदा खुसीको त सीमा नै छैन, अब गाउँले जो कोही बिरामी पर्दा बोक्ने साधन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । एम्बुलेन्स गाउँमा आउँदा उहाँ जस्ता सर्वसाधारणहरू धेरै खुसी भएका छन् ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङको विशेष पहलमा एम्बुलेन्स प्राप्त भएको हो । अध्यक्ष कुलुङले भन्नुभयो, जनताको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण हो, मेरो पहिलो प्राथमिकता पालिकावासीलाई स्वास्थ्यमा सहज पहुँच बनाउने भएकाले पहिलो काम स्वरूप एम्बुलेन्स ल्याउन पहल गरेको हो । एम्बुलेन्स प्राप्त गर्नका लागि पासाङ शेर्पा, सङ्कल्प किराँती र स्वास्थ्य संयोजक हरि आचार्यको सहयोग रहेको उहाँले बताउनुभयो ।

जटिल बिरामी परेका बेला स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका बिरामीलाई जिल्ला अस्पताल तथा अन्य स्थानमा उपचारका लागि लैजान सजिलो हुन्छ । यससँगै पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पनि आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ । अध्यक्ष कुलुङले एम्बुलेन्स सञ्चालनको दिगोपनाको लागि कार्यविधि बनाएर न्यूनतम शुल्कमा महाकुलुङका नागरिकलाई सेवा प्रवाह गर्ने बताउनुभयो ।
त्यस्तै, एम्बुलेन्स आएपछि स्थानीयलाई बिरामी हुँदा तत्काल उपचारमा लैजान सहज हुने वडा नम्बर ३ का वडा अध्यक्ष प्रदीप कुलुङले बताउनुभयो । गाउँ गाउँ सडक सञ्जालमा जोडिसकेकाले महाकुलुङमा एम्बुलेन्स सञ्चालनबाट बिरामीलाई अस्पतालसम्म पु¥याउन निकै राहत पुग्ने अपेक्षा स्थानीयको छ ।
एम्बुलेन्सबाट सडक पुगेका सबै स्थानबाट बिरामी ल्याउने र स्वास्थ्य चौकीमा उपचार हुन नसकेका बिरामीलाई जिल्ला अस्पताल, ओखलढुङ्गाको मिसन अस्पताल र राजधानीसम्म लैजाने व्यवस्था गर्न सकिने गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्