तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो प्राथमिकता कृषिलाई दिनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन राष्ट्रले पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई स्थान दिनुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कफी किसानहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको कफीलाई विश्व बजारमा पुर्‍याएर नेपालको समृद्धिमा मद्दत गर्न सकिने भएकाले यसमा राज्य र सरोकारवाला सबैको सकारात्मक पहल हुनु जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्वाहमुखी कृषि पद्धतिबाट व्यावसायिक कृषिमा रूपान्तरण गर्दै नेपालमा उत्पादित अर्ग्यानिक कफीसँगै अन्य कृषि वस्तुको निर्यात गर्न सक्ने गरी उत्पादन बढाउनुपर्ने र त्यसका लागि राज्यले अझ बढी प्रोत्साहनको नीति लिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अर्ग्यानिक कफी कृषक एवं व्यवसायी ढकेश्वर घिमिरेले विदेशी मुद्रा आर्जनका लागि कफी खेती प्रभावकारी देखिएकाले अर्ग्यानिक कफी खेतीको विस्तारलाई जोड दिएर नेपाली ब्रान्डका रुपमा यसको प्रवर्द्धन गर्दै जाने हो भने मुलुकको व्यापार घाटा न्यूनीकरणमा कफीको योगदान बढाउन सकिने बताउनुभयो ।

अहिले नेपालमा करिब १२ लाख हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकोमा अझै पनि मध्य पहाडी भ–भूभागका थुप्रै नाङ्गा डाँडाकाँडामा कफी खेती विस्तार गरी नेपालमा अर्ग्यानिक कफीको उत्पादन बढाउन सकिनेमा कार्यक्रममा सहभागी कफी कृषक तथा व्यवसायीहरूले जोड दिनुभयो ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button