तपाईँ सुन्दै हुनुहुन्छः

अमृताको दाहसंस्कार

रुपन्देही। साढे २ महिनाअघि शङ्कास्पद अवस्थामा मृत्यु भएकी रुपन्देही तिलोत्तमाकी अमृता खत्री टन्डनको अन्त्येष्टि भएको छ । तिलोत्तमा नगरपालिका २ जानकीनगरकी टन्डनको गत चैत ३० गते राति मृत्यु भएको थियो ।

माइती पक्षले अमृताको मृत्यु शङ्कास्पद अवस्थामा भएको भन्दै उनका श्रीमान् प्रेम टन्डन, ससुरा टहलसिंह टन्डन र सासू दीपा टन्डनविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिई सडक आन्दोलनमा उत्रिएको थियो । घटनाको सत्य तथ्य सार्वजनिक गरिनुपर्ने अडान लिँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेको थियो ।

जसका कारण शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो ।अहिले घर पक्षसँग सहमति भएपछि शव अन्त्येष्टि गरिएको मृतकका दाजु पुष्पक खड्काले बताउनुभयो ।

सहमतिअनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्ने गरी अक्षयकोष बनाउने र छोराको शिक्षादीक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैङ्कमा राखिदिने भएको छ ।माइती पक्षको उजुरीअनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टन्डनलाई पुर्पक्षका लागि थुनामा पठाए पनि सासू र ससुरालाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button