पर्साका पालिकाहरू परिषद्को तयारीमा

बीरगंज । पर्साका पालिकाहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको गाउँ तथा नगर परिषद् गर्ने तयारीमा जुटेका छन् ।
वीरगंज महानगरपालिका सहित १४ वटा पालिकाहरू अहिले गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका हुन ।
असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नुपर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरेका हुन् ।
त्यस्तै, बीरगंज महानगरपालिका पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ ।
महानगरपालिकाले नगर परिषद्मा पेश गर्ने बजेट बनाउने जिम्मा उपप्रमुख इम्तियाज आलम सहितको टोलीलाई जिम्मा लगाएको छ । सो टोलीले अहिले नगरका विभिन्न व्यक्तिहरूसँग छलफल गरी बजेट निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
वीरगंज महानगरपालिकाको ११ औँ नगर परिषद् आगामी असार १० गते गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले बताउनुभयो ।
नेपालको नयाँ संविधान २०७२ जारी भएपछिको पहिलो कार्यकाल पालिकाहरूले काम गरेको र दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरूमा नयाँ जोस एवम् जाँगर भएकाले यस पटकको नगर तथा गाउँ परिषद्लाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ ।
बीरगंज महानगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारीमा बीरगंज महानगरपालिका जुटेको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
पर्साका अन्य पालिकाहरूले पनि नगर तथा गाउँ परिषद् गर्नका लागि तयारी गरिरहेको विभिन्न पालिकाहरूले जानकारी दिएका छन् ।
पर्साको पोखरीया नगरपालिकाले पनि नगर परिषद् गर्नका लागि तयारी गरिरहेको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्