समय नपुगी जन्मेका २० प्रतिशत शिशुमा अन्धोपन : चिकित्सक

चितवन । चिकित्सकहरूले समय नपुगी जन्मिएका शिशुको आँखा परीक्षण नगराएमा २० प्रतिशत शिशु अन्धो हुन सक्ने बताउनु भएको छ । त्यस्ता शिशुको अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भई नसकेका हुँदा ‘रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी’ ‘आरओपि’ का कारण अन्धो हुन सक्ने चिकित्सक विज्ञहरूले बताउनु भएको हो । समय अगावै जन्मिएको बच्चालाई ३० दिनभित्र र समय पूरा भएर जन्मिएकाहरूलाई पनि ६ महिनाभित्र आँखा परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिनुभयो ।
शनिबार भरतपुर आँखा अस्पतालको आयोजनामा कम उमेरमा जन्मिएका शिशुहरूको आँखा उपचार सम्बन्धमा बालरोग विशेषज्ञहरूसँग अन्तर्क्रियामा चिकित्सकहरूले सो कुरा बताउनु भएको हो । भरतपुर आयोजित कार्यक्रममा रेटिना विज्ञ डाक्टर संयम बजिमय, भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक, भरतपुर आँखा अस्पताल बाल आँखा रोग विशेषज्ञ डा.मनीषा श्रेष्ठ लगायतले प्रस्तुतीकरण एवं अन्तर्क्रिया गर्नु भएको हो ।

प्रमुख अतिथि भरतपुर अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डाक्टर विजयमान कायस्थले विगतका आफ्ना अनुभवका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले विज्ञहरूले समय समयमा सीप र दक्षता आदान प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चिकित्सक विज्ञहरूले आफ्ना अनुभव र ज्ञान साटासाट गर्नुभएको थियो ।
“समयमा उपचार पाएन भने समय अगावै जन्मिएका २० प्रतिशत शिशु अन्धो हुन सक्छन् ।” नेत्रधाम अस्पताल कुपण्डोल, काठमाडौँका रेटिना विज्ञ डाक्टर संयम बजिमयले भन्नुभयो । ती शिशुहरूले समयमा उपचार पाएमा भने अन्धो हुँदै नहुने उहाँले बताउनुभयो ।
सात, आठ महिनामा जन्मिएका र १ दशमलव ५ किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।” समय पुगेर जन्मिएका शिशुहरूको पनि ६ महिनाभित्र आँखा परीक्षण गराउनु पर्ने उहाँको भनाई छ ।
भरतपुर अस्पतालको बाल सघन उपचार कक्षका प्रमुख, वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठकले पहिले कम तौलका शिशुहरूको उपचार कठिन हुने गरेको भन्दै प्रविधि र दक्ष जनशक्तिद्वारा उपचार गराउँदा कम तौलका शिशुहरूलाई बचाउन सकिएको बताउनुभयो । उहाँले शिशुलाई बचाउनु पहिलो प्राथमिकता हुने भन्दै त्यस्ता शिशुहरूको शरीरका अङ्गहरू पनि कमजोर हुने बताउनु भयो । ‘समय अगावै जन्मिएका शिशुहरूलाई रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।’ उहाँले भन्नुभयो ।

बाल सघन उपचार कक्षमा राखेर अक्सिजन दिएका, संक्रमण भएका, जन्मँदा कृत्रिम श्वासप्रश्वास दिनु परेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरेका शिशुलाई आँखामा समस्या आउने पाठकको भनाई छ । ।
शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने पाठकको भनाई छ । त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गर्न उहाँले सुझाव दिनुभयो ।
चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनु भएका बाल रोग विशेषज्ञ डाक्टर विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताउनुभयो । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनु पर्ने अवस्था आयो र संक्रमण भयो भने आँखामा समस्या आउने उहाँको भनाई छ । ३७ हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिजन दिनुपर्ने र संक्रमण भएका शिशुको आँखामा जोखिम बढी हुने उहाँको भनाई छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डाक्टर मनीषा श्रेष्ठले कम उमेरमा जन्मिएका शिशुहरूको कम तौल हुने र उनीहरूमा विशेष प्रकारको समस्या आउने बताउनुभयो । आँखाको पर्दामा असर देखिने भन्दै उहाँले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी ‘आरओपि’ को सम्भावना धेरै हुने बताउनुभयो ।उहाँले भन्नुभयो ,‘समयमा उपचार पाएमा उनीहरू अन्धो हुनबाट जोगिन्छन् ।’








प्रतिक्रिया राख्नुहोस्