चिट चोराउने प्रवृत्तिले शैक्षिक गुणस्तर खस्किँदै: प्रजिअ प्रसाईँ
जुम्ला । जुम्लाका १ सय ७० वटा सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रुपमा आउन सकेको छैन ।
माध्यमिक तहको शिक्षा गुणस्तर, व्यवहारिक र सीपमूलक नभएकै कारण जुम्लाका ब्याचुलर गरेका जनशक्ति पनि बेरोजगार छन् भने अधिकांश प्लस टु पढेका युवाहरू काला पहाड र खाडी गएका छन् ।

सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानी अनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौती मध्य परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य समस्या रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाँइले बताउनुभयो । उहाँले भन्नुभयो,“जुम्लामा सबैभन्दा नाजुक र दयनीय अवस्था शिक्षा क्षेत्रको छ । शैक्षिक गुणस्तरका नारा लगाएर आधारभूत तहदेखि प्लस टु सम्मका परीक्षामा चिट चोराएर पास गराउने संस्कार रहेछ । चिट चोराएर पास गराउने गलत संस्कारले जुम्लाको शैक्षिक अवस्था खस्किँदो छ ।”
प्रजिअ प्रसाईँले थप्नुभयो,“जब सम्म शिक्षामा भएको बेथिति हटाउन सकिँदैन, तब सम्म समाज विकासको परिकल्पना असम्भव छ । जुम्लाका शिक्षकले चिट चोराउन सिकाउने गरेको पाइयो । यसमा सुधार नभए हदै सम्मको कारबाही हुन्छ ।”
जुम्लाको शैक्षिक अवस्था दयनीय भएकोले हरेक विद्यालयले अनिवार्य रुपमा विद्यालय सुधार योजना निर्माण गरी अघि बढ्न उहाँको सुझाव छ ।
सोमबार जुम्लामा आयोजित विद्यालय सुधार योजनासम्बन्धी तालिममा प्रजिअ प्रसाँइले जिल्लाका विभिन्न विद्यालय चिट चोराएको प्रमाण समेत सार्वजनिक गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्