तपाईँ सुन्दै हुनुहुन्छः

चितवन आसपासका सेवाग्राहीलाई लक्षित गरी सवारी चालक प्रशिक्षण केन्द्र 

चितवन । चितवन लगायत आसपासका सेवाग्राहीलाई लक्षित गरी भरतपुरमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने  भएको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ विघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर  प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।

चितवनमा आगामी ०७९/०८० नयाँ आर्थिक वर्षदेखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको र हालसम्म ८ करोड रुपैयाँको हाराहारीमा लगानी भइसकेको  सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिनुभयो  ।

उहाँका अनुसार ट्रायल सेन्टर वैशाखको पहिलो सातादेखि सञ्चालनमा आउने छ । चौबिसै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने अध्यक्ष थापाको  भनाई छ । प्रशिक्षण केन्द्रमा दुईचक्के सवारी देखि हेभी सवारी साधनसम्मको लागि एकै पटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । ‘हामीले चौबीसै घण्टा प्रशिक्षण दिने उद्देश्य सहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौँ उहाँले भन्नुभयो, एकैदिनमा ३००० जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’ 

यातायात व्यवस्था विभागको निर्देशिका, २०७४ बमोजिम नेपालकै संभवत सुविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो  । उहाँका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौटको रुपमा परेको खण्डमा दैनिक १ हजार सम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपाङ्गमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवास सहितको सुविधा रहेको छ । 

हाल प्रशिक्षण केन्द्रमा १५ वटा कार, ५० वटा मोटरसाइकल, २५ जटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले बताउनुभयो  । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी हाल सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । 

यो सँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ वटा सवारी चालक प्रशिक्षण केन्द्र रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button