तपाईँ सुन्दै हुनुहुन्छः

भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने

कोलम्बो ।  भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ ।  

श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलङ्कालाई मल उपलब्ध गराइने जानकारी दिनुभयो  ।

श्रीलङ्कालाई खाद्य सङ्कट परिरहेका बेला आगामी दिनमा यो सङ्कट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्कालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिनुभयो । 

भारतले “छिमेकी प्रथम” नीति अन्तर्गत छिमेकी राष्ट्रहरूलाई सङ्कटका बेलामा खुलेर सहयोग गरेको उहाँको भनाई छ । “भारतले दिने निर्णय भएको मल श्रीलङ्काले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,” उहाँले भन्नुभयो । 

भारत र श्रीलङ्काका उच्च अधिकारीहरूका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलङ्कालाई खाद्य सुरक्षा, औषधी व्यवस्थालगायतका विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो । 

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्यून भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रवार श्रीलङ्कालाई सहयोग स्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।  

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य वृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूलाई अनुरोध गरेको थियो । 

श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य वृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । 

आर्थिक सङ्कटका कारण बहुआयामीक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । 

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button