नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल भएको छ ।
सांसदहरुले बजेटलाई केन्द्रीकृत नभई विकेन्द्रित गर्नुपर्ने, नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने, गरिबलाई परिचयपत्र दिने समय तोकिनुपर्ने, कमैया कमलरीलाई सम्बोधन गर्नुपर्ने, खेलकुदमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो ।
सांसदहरुले समाजको आवश्यकता अनुसार कानुन बन्नुपर्ने र बनेको कानुन नागरिकलाई जानकारी दिनुपर्ने, सहरी मन्त्रालयले फोहोर व्यवस्थापन गर्नुपर्ने, पर्यटन प्रवद्र्धन गर्नुपर्ने, प्रत्येक गाउँपालिकामा खेलकुद मैदान बनाउनुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा सांसदहरुले द्वन्द्वका समयमा पीडित भएका व्यक्तिहरूलाई समयमै क्षतिपूर्ति तथा न्याय दिनुपर्ने, आमाको नामबाट नागरिकता दिन ढिलो गर्न नहुने, अव्यवस्थित बसोबासलाई सम्बोधन गर्नुपर्ने, हरेक पालिकामा क्रिकेट र फुटबल खेल प्रवद्र्धन गर्न बजेट छुट्टयाउनुपर्ने र ५० प्रतिशत जनसङ्ख्या ओगटेको महिला मन्त्रालयमा बजेट कमी भएको तर्फ ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले अघिल्लो सरकारले सुरु गरेका विभिन्न विकासका योजनाहरू अझै पुरा नभएको भन्दै बजेटले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्न नसकेको, छुवाछुत विरुद्ध बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरू प्रेम सुवालले, दुर्गा पौडेल, शिवमाया तुम्बाहाम्फे, जगतबहादुर सुनार, घनश्याम खतिवडा र जुली कुमारी महतोले विनियोजन विधेयक २०७९ को खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको छलफलमा सांसदहरुले आफ्नो धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्