“सफा हिमाल अभियान-२०२२” औपचारिक रुपमा समापन (फोटो फिचरसहित)

काठमाडौँ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरूप सञ्चालित “सफा हिमाल अभियान-२०२२” को आज प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डास्थित सभामण्डप हलमा अभियान औपचारिक रुपमा समापन भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरू ल्होत्से, कञ्चनजंघा र मनास्लुको सफाई गर्ने उद्देश्यका साथ २०७८ चैत्र २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म सञ्चालित उक्त अभियानबाट ३३,८७७ केजी फोहोर सङ्कलन गरिएको जानकारी नेपाली सेनाले दिएको छ । जसमध्ये कुहिने ७,२२७ केजी फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६,६५० केजी रिसाइक्लिङ एजेन्सीलाई विभिन्न मितिहरूमा हस्तान्तरण गरिएको थियो ।

साथै, उक्त अभियानको दौरान कञ्चनजंघा आधार शिविरमा पहिचान खुल्न नसकेका दुई वटा मानव अस्थिरपञ्जर फेला परेकोमा उक्त अस्थिरपञ्जरहरु कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित श्री जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको समेत सेनाले जनाएको छ।
कार्यक्रममा रक्षा सचिव तथा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्दहरु, स्थानीय निकायका प्रतिनिधिहरू, नेपाली सेनाका अधिकृतहरू, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, पर्वतारोहण र विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, सफा हिमाल अभियान २०२२ का साझेदार संघसस्थाका पदाधिकारीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधान सेनापति शर्माले सफा हिमाल अभियान २०२२ सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, सरकारी एवं गैह्र सरकारी सङ्घसंस्थाहरू, विशेष व्यक्तित्वहरू तथा सञ्चार जगत सबैलाई साथ तथा सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमको दौरान प्रधान सेनापति शर्माले उक्त अभियान सफलतापूर्वक सम्पन्न गर्न विभिन्न भूमिकाहरूबाट सहयोग गर्ने विभिन्न सरकारी तथा गैह्र सरकारी सङ्घसंस्था, सेवा प्रदायक कम्पनी र व्यक्तिहरूलाई प्रतिनिधिमूलक रुपमा प्रमाण-पत्र वितरण गर्नु भएको थियो । सोही क्रममा, प्रधान सेनापति शर्माले हिमाल सफाईका क्रममा सगरमाथा, ल्होत्से तथा नेपाली सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपाली सेनाका ७ जना सकल दर्जाहरूलाई प्रोत्साहन स्वरूप प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको थियो ।

















प्रतिक्रिया राख्नुहोस्