मङ्गलसेन नगर कार्यपालिका बैठक: प्रतिबद्धता अनुमोदन
अछाम । मङ्गलसेन नगरपालिका नगर कार्यपालिकाको बैठकले नगर प्रमुखले गरेका प्रतिबद्धता अनुमोदन गरेको छ । नगर कार्यपालिकाले जेठ १६ गते गरेको निर्णय आज सार्वजनिक गरिएको हो ।
दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख पदम बहादुर बोहराले जेठ ९ गते पदभार ग्रहण गर्दा व्यक्त गर्नुभएका प्रतिबद्धता अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

नगर प्रमुख बोहराले पदभार ग्रहण गर्दै नेपाल सरकार बाट निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यक्ति बाहेकका दीर्घ रोगीहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धारमा सहयोग पुर्याउन म न पा १३ को बस्ती र म न पा १२ को छाप डाँडामा हेली प्याड स्थापना गर्ने, २ रोपनी भन्दा बढी जग्गामा तरकारी खेती, ५ रोपनी भन्दा बढी जग्गामा अन्नबाली लगाउने र व्यवसायीक रुपमा पशुपालन गर्ने कृषकहरूलाई कृषि बिमामा लाग्ने रकमको ७५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने, नगरपालिकामा शव वाहन सञ्चालनको व्यवस्था गर्ने तथा वाल संरक्षण कोषको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बैठकले वडा नं. ३ का अध्यक्ष श्री बिर्ख बहादुर बोगटीलाई नगर कार्यपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेको छ । यस्तै विभिन्न १० समिति समेत गठन गरिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्