पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रम मन्त्री श्रेष्ठको प्रतिबद्धता

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्नुहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौँ जान नपर्ने गरी सबै सेवा उपलब्ध गराइने बताउनुभयो ।
पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । नवनिर्वाचित महानगरपालिका प्रमुखले शपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा सङ्घीय सरकारबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि सङ्घीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्य निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्