सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९÷८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्नुभएपछि छलफल सुरु भएको हो ।
बैठकमा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्दै धेरै विषयमा सुधार आवश्यक रहेको बताउनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नहालिएको जेरी जस्तो खल्लो भएको टिप्पणी गर्नुभयो ।
संसदीय दलका नेता ओलीले हिजो एमालेले ल्याएको नीति तथा कार्यक्रमलाई नै यो सरकारले निरन्तरता दिएको दाबी गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको भन्नुहुँदै फराकिलो मन र जनताको सेवक हुँ भन्ने भावनाले काम गर्न निर्वाचित उम्मेदवारलाई शुभकामना दिनुभयो ।
अध्यक्ष ओलीले चर्को मूल्यवृद्धिको मारमा जनता रहेको, पेट्रोलियम पदार्थको मूल्य एक हप्ताभित्र दुई पटक वृद्धि गरिएको भन्दै जनतालाई धोका दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव गर्दै सांसद हृदेयस त्रिपाठीले नागरिकता सम्बन्धी व्यवस्थालाई संविधान अनुसार कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद दुर्गा पौडेलले कृषिप्रधान देश भए पनि मुलुक कृषिमा आत्मनिर्भर हुन नसकेको भन्दै उत्पादनमूलक क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।








प्रतिक्रिया राख्नुहोस्