तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा सामाजिक सञ्जाल र डिजिटल मिडिया अनुगमनको समीक्षा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रयोग र अनुगमन कार्यको समीक्षा गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गठन गरेको सामाजिक सञ्जाल अनुगमन समितिको आज भएको बैठकमा सामाजिक सञ्जालको प्रयोग भई सञ्चालित मतदाता शिक्षा र निर्वाचन प्रचार, सामाजिक सञ्जालमा प्रयोग भएका गलत र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिका क्रियाकलापको समीक्षा गरिएको हो ।

बैठकमा आयोगका सचिव एवं समितिका संयोजक गोकर्णमणि दुवाडीले निर्वाचनका सूचनालाई विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न र गलत समाचारको अनुगमन गरी कारबाही गर्न उपलब्ध समय, स्रोत र सीमाका बिच समितिले प्रभावकारी काम गरेको बताउनुभयो ।

उहाँले निर्वाचनसम्बन्धी व्यवस्थापन र विद्यमान कानूनी पक्षमा देखिएका कतिपय जटिलताबाट पाठ सिकेर आगामी निर्वाचनमा थप प्रभावकारी काम गर्न सकिने उल्लेख गर्नुभयो ।

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले मतदाता शिक्षालाई यस पटक सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाटै प्रभावकारी रूपमा प्रवाह गरिएको जनाउँदै उपयोग गर्न सक्दा सामाजिक सञ्जाल उपयोगी र कम खर्चिलो हुने बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई उपयोग गर्ने सन्दर्भमा जसले उपयोग गर्न सक्छ उसैको डोमिनेशन हुने पक्षलाई ध्यान दिएर काम गर्न सुझाव दिनुभयो ।

आयोगका सूचना तथा प्रविधि शाखाका प्रमुख आदेश खड्काले निर्वाचन आचारसंहिता कार्यान्वयन र मौन अवधिमा एक लाख २० हजार निर्वाचन सामग्रीको अनुगमन गर्दा ५४३ वटा सामग्री आचारसंहिता उलङ्घनयुक्त पाइएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button