तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो सेवा सुविधाबाट एक जनालाई एमबिबिएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा

सोलुखुम्बु । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।

अघिल्लो कार्यकालमा लोकप्रिय काम गरेका कारण जनताले अर्को कार्यकालका लागि विजय गराएपछि अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीहरू मध्येबाट एक जनालाई एमबिबिएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

स्थानीय स्तरकै जनशक्तिबाट चिकित्सक उत्पादन गर्ने यस्तो निर्णयले पालिकामा अघिल्लो कार्यकालमा राईले निर्माण थालेर अन्तिम चरणमा पुगेको सुविधा सम्पन्न अस्पतालमा दक्ष चिकित्सकको व्यवस्थाका लागि समेत सहज हुने छ ।

उहाँले पालिकावासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि ठाउँ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने अर्को महत्त्वाकाङ्क्षी निर्णय समेत गर्नुभएको छ ।

पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनमा जोड दिइने बताउनुभयो ।

गाउँपालिकाका सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकता अनुसार स्तरोन्नति गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button