आज मदन आश्रित स्मृति दिवस : बल्खुमा एमालेको स्मृति सभा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा जीप दुर्घटना भई निधन भएको २९ वर्ष पुगेको छ ।
आज मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले मदननगर बल्खुमा एक स्मृति सभाको आयोजना गरेको छ । सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको आर्थिक विकास र समृद्धिको अभियान चलाउने पार्टी नेकपा एमालेले देश बनाउने सपनाहरूलाई मुर्छित हुन नदिने बताउनुभएको छ ।
एमालेका महासचिव शङ्कर पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताउनुभयो । आजकै दिन २०५० साल जेठ ३ गते नेता मदन भण्डारी र जीवराज आश्रित चढेको जीप चितवनको दासढुङ्गामा दुर्घटनामा परि निधन भएको थियो ।
जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको छ ।यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीले पनि आज एक समारोह आयोजना गरी जननेता मदन आश्रितको स्मरण गरेको छ । सभामा पार्टीका अध्यक्ष माधवकुमार नेपालले जननेता मदन भण्डारीले देखाउनुभएको बाटोलाई अहिले पनि आत्मसाथ गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्