तपाईँ सुन्दै हुनुहुन्छः

बजेट तर्जुमाको काम तीव्र गतिमा हुँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी जेठ १५ गते प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने गरी बजेट तर्जुमाको काम तीव्रताका साथ अघि बढाएको छ ।

file photo

यसका लागि अर्थ मन्त्रालयले विभिन्न क्षेत्रबाट राय सुझाव लिने काम सम्पन्न गरी प्राप्त सुझावहरूलाई दस्तावेजीकरण गर्ने र बजेटका प्राथमिकताका आधारमा बजेटमा समावेश गर्ने लगायतका कामहरू भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयको राजस्व महाशाखाका सहसचिव भूपाल बराल नेतृत्वको टोलीले तयार पारेको बजेटको प्रारम्भिक मस्यौदामा प्राप्त भएको सुझावहरूलाई मिलाउने, प्राथमिकीकरण गर्ने लगायतका काम हाल भइरहेको अर्थ मन्त्रालयका सहसचिव एव प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम अनुसार बजेटलाई प्राथमिकीकरण गर्ने, क्ल्स्टरिङ गरी मिलाउने लगायतका कामहरू बाँकी रहेको प्रवक्ता निरौलाले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि करिब साँढे १७ खर्बको सिलिङ दिएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आगामी बजेटमा मुलुकमा कृषिको उत्पादन बढाउने, रेमिटेन्सको प्रयोगलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने, उत्पादनशील उमेरका युवाहरूलाई रोजगारी मार्फत आर्थिक क्रियाकलापमा सहभागी गराउने लगायतका विषयलाई उच्च प्राथमिकता दिने गरी बजेट तर्जुमा भइरहेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button