हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने गरी गरिएको निर्णय राजपत्रमा प्रकाशन गरिएको छ ।
प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरी सरकारले गरेको निर्णयलाई राजपत्रमा प्रकाशन गरेको हो, भने सोमबारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि अपराह्न ५ः३० बजेसम्म निर्धारण गरिएको छ । तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि अपराह्न ४ः३० बजेसम्म रहने जनाइएको छ ।
त्यस्तै २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक सेवा, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ ।
त्यस्ता कार्यालयमा सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नुपर्नेछ।










प्रतिक्रिया राख्नुहोस्