तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको दिनका लागि सवारी आवागमनको मापदण्ड जारी

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।

File Photo

आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिए बमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।

यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नाम समेत उल्लेख गरी अनुसूची २ बमोजिमको सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूची बमोजिम सवारी साधनको अनुमति पत्र जारी गर्ने निकाय वा अधिकारी समक्ष पत्र पेश गर्नुपर्नेछ ।

आयोगका अनुसार सवारी साधनका लागि अनुमति माग गर्न निवेदन दिँदा वा पत्र पेश गर्दा यही वैशाख २८ गतेसम्ममा दिइसक्नु पर्नेछ । उक्त मापदण्डको विस्तृत विवरण आयोगको वेबसाइटमा समावेश गरिएको छ ।

यही वैशाख २७ गते मङ्गलवार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउने आयोगले निर्णय गरिसकेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button