भरतपुरमा चुनाव जित्न केही गाह्रो छैन : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न केही गाह्रो नभएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै गठबन्धनको पक्षमा जित हुने बताउनु भयो ।
उहाँले काँग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उहाँले सङ्केत गर्नुभयो । ‘मलाई निर्वाचन जित्न कुनै गाह्रो अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उहाँले भन्नुभयो ।
गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उहाँले उम्मेदवारी दिने स्वतन्त्रता जो कोहीलाई हुने बताउनु भयो । स्वतन्त्र उम्मेदवारको विषयमा धेरै चर्चा र पछि लाग्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उहाँको भनाई थियो ।
भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा हुनुहुन्छ । उपमेयरमा काँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बन्नु भएको छ ।
चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले भरतपुर बसपार्कमा चुनावी सभा जारी छ ।








प्रतिक्रिया राख्नुहोस्