आफ्नो उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारहरूलाई मतदान गर्न राप्रपा नेपालको आग्रह
काठमाडौँ । राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउन मतदातालाई आग्रह गरेको छ ।
चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने सहमति गरेको थियो सोही बमोजिम मतदातालाई आव्हान गरेको हो ।
“मतदाताहरूलाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरूमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरूमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ” पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै सरकारसँग वर्षे बाली लगाउने समयमा किसानहरूलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकोले किसानहरूलाई कृषि मल तत्काल उपलब्ध गराउन माग समेत गरेको छ ।
त्यसैगरी दैनिक उपभोग्य वस्तुहरूको आकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत दिन समेत सरकारसँग आग्रह गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्