तपाईँ सुन्दै हुनुहुन्छः

साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

रियाद। साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिले शुक्रबार भेटवार्ता गर्नु भएको छ ।

राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गर्नु भएको हो ।

आफूहरूको भेटवार्ता अत्यन्त उपलब्धीमूलक भएको र आपसी सम्बन्धमा नयाँ युगको सुरुवात भएको टर्कीका राष्ट्रपति एर्दोगानको भनाई छ ।

उहाँले भन्नु भएको छ, “साउदी अरबका राजा र युवराजसँग मेरो भेटवार्ता ऐतिहासिक भएको छ, यो भेटवार्तासँगै दुई देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ ।”

दाजुभाइ जस्ता दुई छिमेकी मुलुकका बीचमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

“एक अर्कालाई सम्मान गर्दै राजनीतिक, आर्थिक, सांस्कृतिक र सैन्य क्षेत्रमा एक अर्कालाई सघाउने र सहकार्य गर्ने सहमति भएको छ,” उहाँले भन्नुभयो ।

राष्ट्रपति एर्दोगानका अनुसार स्वास्थ्य सेवा, उर्जा, खाद्य सुरक्षा, कृषि प्रविधिलगायतका विषयमा पनि सहकार्य गर्ने तयारी भएको छ ।

सहकार्यलाई बढाउने दुवै देशको संयुक्त चासो र रुचि भएकाले भविष्यमा सहकार्य गर्ने सहमति प्रभावकारी रुपमा कार्यान्वयन हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button