तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र मलेसियाको मानव अधिकार आयोगबीच सहकार्यको समझदारी

केशव ढुंगाना । नेपालको राष्ट्रिय मानव अधिकार आयोग र मलेसियाको मानव अधिकार आयोग बीच आप्रवसी कामदारको अधिकार रक्षाका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आज काठमाडौमा पत्रकार सम्मेलन गरी मानवअधिकारको विश्वव्यापी मान्यता अनुरूप आप्रवासी श्रमिकको अधिकार सुनिश्चित गर्न दुई देशका आयोगहरूले संयुक्त संरचना निर्माण गरी काम गर्ने समझदारी भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले समझदारी कार्यान्वयन भएपछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारले त्यहाँको मानवअधिकार आयोग मार्फत कानूनी सेवा लिन सक्ने बताउनुभयो ।

प्रमुख आयुक्त शर्माले दिएको जानकारी अनुसार काठमाडौमा जारी आप्रवासी श्रमिकको अधिकार सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनका क्रममा मलेसियाको मानवअधिकार आयोगको तर्फबाट सहभागी प्रतिनिधिहरूसँग भएको छलफलमा सो समझदारी भएको हो ।

७ बुँदामा समेटिएको सो समझदारीमा नीतिगत मुद्दाहरूमा छलफल गर्न दुई आयोगका प्रतिनिधीहरू बीच हरेक ६ महिनामा बैठक बस्ने, आवश्यक सूचना आदानप्रदानका लागि दुबै आयोगले १–१ जना सम्पर्क व्यक्तिको नियुक्ति गर्ने, मानव वेचविखन, आप्रवासी कामदारको अबैध ओसारप्रसार एवं बाध्यात्मक श्रमको नियन्त्रणका लागि सहकार्य गर्ने लगायतका बुँदाहरू समेटिएको छ ।

यसैबीच, यही कार्तिक २६ गते देखि काठमाडौमा जारी आप्रवासी श्रमिकको अधिकार सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सम्मेलन २१ बुँदे काठमाडौ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल सहित २८ देशका मानवअधिकार तथा आप्रवासी श्रमिकको अधिकारका क्षेत्रमा क्रियाशिल १ सय १५ संस्थाका प्रतिनिधीहरू सहभागी सम्मेलनले घोषणा पत्रको कार्यान्वयनका लागि १० बुँदे कार्ययोजना समेत पारित गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button