एसिया कप च्याम्पियन ट्रायथोलनको उपाधि जापानी युचिदालाई
कास्की । एसिया कप ट्रायथोलनको उपाधि पुरुषतर्फ जापानी र महिलातर्फ काजकिस्तानका खेलाडीले जितेका छन् ।
शनिबार पोखरामा आयोजना भएको ट्रायथोलनको स्प्रिन्ट विधातर्फ जापानी एथ्लेट जेन्ता युचिदाले जितेका छन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेन्डमा पुरा गर्दै ट्रायथोलन च्याम्पियन बनेका हुन् ।

जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । अष्ट्रियाका लियोन पोगरले ५३ मिनेट ३६ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थानमा चित बुझाए ।
महिला तर्फको प्रतिस्पर्धामा काजाकिस्तानकी इकातेरिना शाबालिनाले १ घण्टा २ मिनेट २० सेकेन्डको समयमा पुरा गरिन् । त्यसैगरी जापानकी हिराकु फुकुओका दोस्रो भइन् । उनले १ घण्टा २ मिनेट ५३ सेकेन्डको समय लगाइन् । काजाकास्तानकी नाडेज्दा बेक्मागान्वेतोभाले १ घण्टा ४ मिनेट १४ सेकेन्डको समय लगाउँदै तेस्रो स्थान प्राप्त गरिन् ।
फेवातालमा पौडी खेलेपछि साइक्लिङ र दौड गौरीघाट–शहीद चोक–गौरीघाटमा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा सात देशका महिलातर्फ २० जना र पुरुष तर्फ ३१ जनाको सहभागिता थियो ।
आइतबार दुवाथोलन हुने छ । दुवाथोलनमा दौड–साइक्लिङ–दौड हुने छ । दुवै इभेन्टमा विजेता खेलाडीहरूले कुल ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
ट्रायथोलनको एसिया कपको दोस्रो संस्करण हो भने साउथ एसियन च्याम्पियनसिप भने नवौँ हो ।







प्रतिक्रिया राख्नुहोस्