बहुवर्षीय योजना निर्माणमा कर्णालीको प्राथमिकता : मन्त्री रोकाया

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले टुक्रे योजनाको अन्त्य गर्दै बहुवर्षीय योजना निर्माणमा प्राथमिकतामा दिएको बताउनुभएको छ ।
मन्त्री पद बहाली भए पश्चात् गृह जिल्ला जुम्ला पुग्नुभएका मन्त्री रोकायाले पत्रकार सम्मेलनमा बोल्नुहुँदै बहुवर्षीय योजना निर्माण बिना कर्णालीको पूर्वाधार विकासले गति नलिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजनाको प्रावधान छ । तर पहुँच अभावका कारण कर्णालीका सबै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना निर्माण हुन सकेनन् । अहिले म भौतिक मन्त्रीका रुपमा आइसकेपछि कर्णालीका १० वटै जिल्लामा बहुवर्षीय योजना निर्माणको प्रक्रिया थालेको छु ।”

यसअघि जुम्ला–दानसाँघ–चोत्रा सडक बहुवर्षीय आयोजना मात्रै भएकोमा हाल जुम्लामा थप दुई वटा बहुवर्षीय योजना निर्माण हुन थालेको उहाँले बताउनुभयो ।
उहाँले हाल जुम्ला एयरपोर्ट हुँदै उर्थु पटमारा न्याउरीघाट बुलबुले पर्यटकीय सडक र जलजला थालाचौर गोठेलबाडा बुडु कालाकाँडा सडक बहुवर्षीय योजनाका रुपमा टेण्डर भई निर्माण तथा स्तरबृद्धि अघि बढेको बताउनुभयो ।
उहाँले सल्यान, दैलेख, सुर्खेत र जाजरकोटमा भौतिक मन्त्रालयबाट विभिन्न बहुवर्षीय योजना कार्यान्वयनमा रहेको र अन्य जिल्लाका बहुवर्षीय योजना प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको कुल पुँजीगत बजेट २१ अर्बको ५० प्रतिशत बजेट भौतिक तथा पूर्वाधार मन्त्रालयमा रहेकोले पूर्वाधार विकासका लागि बजेटको अभाव नरहेको उहाँको भनाई छ ।
ढिलासुस्ती गर्ने निर्माण व्यवसायी, ठग्ने उपभोक्ताकै कारण पूर्वाधार विकास सुस्त भएको भन्दै आफ्नो पालामा देखिने खालका केही मात्र बहुवर्षीय योजनाको टुङ्गो लगाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“पूर्वाधार विकासमा पनि दुर्गमलाई प्राथमिकता दिने लक्ष्य अनुसार हुम्ला र डोल्पामा सडक तथा पुल निर्माण प्रक्रियालाई विशेष प्राथमिकता दिइएको छ ।”, उहाँले भन्नुभयो, “हाल सञ्चालन भइरहेका योजनाहरूको अनुगमन नियमित भइरहेकोले गुणस्तरमा कुनै तल माथि भए निर्माण व्यवसायी सिँधै कारबाहीको भागेदार हुनुपर्छ ।”
उहाँले नाग्म–गमगडी सडक खण्ड चाँडै कालोपत्रे हुने भन्दै निर्माण तथा स्तर वृद्धि लागि १ अर्ब २० करोड विनियोजन भएको जानकारी दिनुभयो ।
त्रिवेणी टोप्ला हुँदै जाजरकोट जोड्ने सडक निर्माणलाई पनि बहुवर्षीय योजनाका रुपमा अघि बढाइनुका साथै पत्रकार महासङ्घ जुम्लाको भवनको तला थप्ने सहयोग गर्ने उहाँले बताउनुभयो ।
पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले महासङ्घको भवन निर्माणका आवश्यक रकम सहितको फाइल हस्तान्तरण गर्नुभएको छ ।

जुम्ला रारा जोड्ने पर्यटकीय मार्ग अनुगमन
एयरपोर्ट उर्थु पटमारा खाली न्याउरीघाट हुँदै बुलबुले सडक अर्थात् जुम्ला हुँदै मुगु रारा ताल जोड्ने पर्यटकीय मार्गको अनुगमन गरिएको छ ।
कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रोकायाको नेतृत्वमा उक्त सडकको चार खण्डनै अनुगमन गरिएको हो ।
अनुगमन क्रममा एयरपोर्टदेखि उर्थु, उर्थुदेखि पटमारा, पटमारादेखि न्याउरीघाट, न्याउरीघाटदेखि बुलबुलेसम्म चार फेजमा निर्माण भइरहेको सडकको हाल सम्मको अवस्था सन्तोषजनक रहेको रहेको मन्त्री रोकायाले उल्लेख गर्नुभयो ।
पर्यटकीय गन्तव्य रारा ताल जाने सबैभन्दा छोटो मार्ग भएकोले पनि पर्यटकहरूको सहजताका लागि जुम्ला रारा जोड्ने सडकको बाँकी सबै काम छिटै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो ।
जुम्लाका तीन वटै बहुवर्षीय योजना पूर्वाधार विकास कार्यालयले निर्माण गरिरहेको छ ।
प्रमुख पूर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर ओलीले आफ्नो दक्षता र क्षमता अनुसार विकास निर्माणलाई चुस्त रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जुम्ला रारा जोड्ने सडक मात्र नभई कार्यालयलाई जिम्मेवारी प्राप्त सबै योजनाहरूलाई पूर्णता दिन कार्यालयका सबै जनशक्ति निरन्तर खटेर लाग्ने प्रमुख उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्