नेपाली टोलीद्वारा इजरायली सहयोगमा स्थापित भारतीय कृषि केन्द्रहरूको भ्रमण

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाली प्रतिनिधिमण्डलले मङ्गलबार र बुधबार भारतको पञ्जाब राज्यमा रहेको तरकारी र सिट्रस फल र हरियाणा राज्यमा रहेको मौरीपालनका लागि इजरायलको साहयतामा स्थापित सेन्टर अफ एक्सिलेन्सका सिओइको भ्रमण गरेको छ
प्रतिनिधिमण्डलको नेतृत्व कृषि विभागका महानिर्देशक डा रेवती रमण पौडेलले गर्नुभएको थियो ।
भ्रमणको उद्देश्य इजरायली सहयोग संस्था माशाभको सहकार्यमा भारतमा स्थापना भएका सेन्टर अफ एक्सिलेन्सको गतिविधिहरू हेर्नु रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले नेपाली कृषकलाई फाइदा पु¥याउने उद्देश्यले इजरायलको सहयोगमा नेपालमा सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने योजना बनाएको छ ।

नेपाल र इजरायलले नेपालमा आधुनिक इजरायली प्रविधि ल्याउन र कृषि क्षेत्रमा तालिम सञ्चालन गर्ने उद्देश्यले नेपालमा सातवटा उत्कृष्टता केन्द्र स्थापना गर्ने द्विपक्षीय सम्झौतामा सन् २०२० मा हस्ताक्षर गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा नयाँदिल्लीस्थित इजरायली राजदूतावासका कृषि सहचारी यायर एसेलले हाल भारतका १२ राज्यमा २९ वटा सेन्टर अफ एक्सीलेन्स पूर्ण रुपमा सञ्चालनमा रहेको र थप ९ राज्यमा सेन्टर अफ एक्सिलेन्स स्थापना भइरहेको जानकारी दिनुभयो ।
सेन्टर अफ एक्सिलेन्स स्थानीय परिस्थिति अनुरूप इजरायली कृषि–प्रविधिको ज्ञान हस्तान्तरणका लागि स्थापित उन्नत कृषि फार्महरू रहेको, काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्