सोलारबाट झलमल्ल भयो रोल्पाको थवाङ

रोल्पा । रोल्पाको थवाङमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, एसियाली विकास बैङ्क र थवाङ गाउँपालिकाको संयुक्त लगानीमा सोलार मिनिग्रीड निर्माण सम्पन्न भएपछि थवाङ गाउँका ४ सय १८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न नसकेको अवस्थामा सोलार मिनिग्रिद बाट गाउँ नै झलमल्ल भएर बलेको छ ।
१ सय ५० किलोवाट क्षमताको सोलार मिनिग्रिद ९ करोड १५ लाख २० हजार लागतमा तयार भएको बताइएको छ । सोलार मिनिग्रीडबाट घर–घरमा बत्ती बाल्ने काम मात्र नभई गाउँमा घरेलु तथा साना उद्योग सञ्चालन गर्न सकिएको थवाङ सौर्य मिनिग्रीड व्यवस्थापन समितिका अध्यक्ष वसन्त रोका बताउनुहुन्छ ।

लघु जलविद्युत भएता पनि केही थोरै मात्रामा विद्युत् सेवा उपभोग गर्दै आएका थवाङका स्थानीयले प्रशस्तै मात्रामा विद्युत् प्रयोग गर्न पाएका छन् । सोलारबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ र विद्युतको लाइन बिस्तार गर्नको लागि पोल गाड्ने काम पनि भइरहेको छ ।
अब थवाङलाई पूर्ण विद्युतीकरण गर्नको लागि काम भइरहेको थवाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्