राजसंस्थाको एजेन्डा छोडी हिन्दु राष्ट्र र सुशासनलाई बोकियो : कमल थापा

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा आफूले छोडिसकेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज वीरगंजस्थित नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राप्रपा नेपालको मुख्य एजेन्डा लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धि रहेको बताउनुभयो ।
अध्यक्ष थापाले २०६३ सालदेखि राजसंस्था, हिन्दु राष्ट्रसहितको लोकतन्त्रको एजेन्डा बोकेर आएको तर जनताले अस्वीकार गरेपछि आफूmले राजसंस्थाको एजेन्डा छाडेको बताउनुभयो । उहाँले पार्टीलाई ठूलो बनाउन दलहरुबीच विगतमा एकता गरेको र गलत प्रवृत्तिका व्यक्तिहरूको साथ पाएपछि पार्टीलाई ठूलो क्षति भएको बताउनुभयो ।
उहाँले अब केही समयमा राप्रपा नेपाल ठूलो पार्टी बन्ने दाबी गर्नुभयो । राजसंस्थाले पुर्याएको योगदानको कदर गर्दै अब राप्रपा नेपालले राजसंस्थालाई बोक्ने अवस्था नरहेको थापाले बताउनुभयो ।
नेपालमा ९४ प्रतिशत जनता हिन्दुप्रति आस्था राख्ने भएकोले अब बलियो शक्तिको रुपमा राप्रपा उदाउने निश्चित भएको बताउनुभयो । देश अहिले जटिल अवस्थाबाट गुज्रिरहेको र विदेशी हस्तक्षेप बढ्दै गएपछि नेपालसँग उत्तरमा चीन र दक्षिणमा भारतको सम्बन्ध बिग्रिँदै गएकोप्रति अध्यक्ष थापाले दुःख व्यक्त गर्नुभयो ।
राजनीतिक दलका केही नेताहरूले सत्ता कब्जा गरी मुलुकमा भ्रष्टाचार बढाएको आरोप लगाउँदै थापाले बेरोजगारहरूको सङ्ख्या पनि बढ्दै गएको आरोप लगाउनुभयो ।
थापाले गीता छोएर पार्टी नफुटाउने प्रतिबद्धता गरेकोले एक्लै राप्रपाबाट आफू बाहिरिएको बताउनु हुँदै अन्याय, अपमान सहेर बस्छु भनेर गीता छोएको होइन । गलत प्रचार गरेर भ्रम फैलाइएको दाबी गर्नु भयो ।
एकता गर्ने नाममा गलत प्रवृत्तिसँग सम्झौताले चुनाव चिन्ह पनि गुमाएको थापाले बताउनुभयो ।
थापाले चीनका विदेशमन्त्री नेपाल सरकारलगायत अन्य राजनीतिक दलसँग भेटघाट गरी फर्किसकेको बताउँदै विदेशमन्त्रीको भ्रमणको आधिकारिक धारणा सरकारले नल्याएको भन्दै शङ्का व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष राजीव पराजुली, महासचिव राजाराम बर्तौला, प्रदीप सुवेदी लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्