नेपाली राष्ट्रिय फुटबल टोली चोनबुरी एफसीसँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डको क्लब चोनबुरी एफसीसँग पराजित भएको छ ।
चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३–१ गोल अन्तरले हराएको हो ।
चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । नेपालले यस अघि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्यान्ड गएको हो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्