तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेश मन्त्रीलाई माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेपालको विकास निर्माणका लागि बीआरआई लगायत परियोजनाको छिटो कार्यान्वयनका लागि चीन सरकारलाई आग्रह गरेको छ ।

चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीसँग आज भएको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण मानिएका आयोजनाको छिटो कार्यान्वयनका लागि चीनका विदेश मन्त्री वाङलाई आग्रह गर्नुभएको हो । 

भेटका अवसरमा नेपाल चीन सम्बन्धमा विविध पक्षमा कुराकानी भएको र माओवादी अध्यक्ष प्रचण्डले नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको भेटमा सहभागी माओवादी नेता शक्ति बहादुर बस्नेतले जानकारी दिनुभयो ।

माओवादी नेता बस्नेतले नेपालको व्यापार घाटा कम गर्न, कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरूले चिनियाँ विदेश मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । 

कोरोना महामारीमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई धन्यवाद दिएको थियो । 

त्यस अवसरमा विदेश मन्त्री वाङले नेपालको विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले गर्ने सहयोग निरन्तर रहने बताउनुभएको थियो । 

भेटवार्तामा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ललगायतको सहभागिता थियो ।

तीन दिने नेपाल भ्रमण पुरा गरी चीनका विदेश मन्त्री वाङ यी नेतृत्वको प्रतिनिधि मण्डल आज २ः५५ बजे स्वदेश प्रस्थान गरेको छ ।

चिनियाँ विदेश मन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो । शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button