तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक राजधानीमा सुरु

काठमाडौँ । प्रगतिशील श्रमजीवी पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ । 

दुई दिनसम्म चल्ने बैठकको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उद्घाटन गर्नुभयो ।

बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारीसहित सदस्य, प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्षलगायत ३०० भन्दा बढीको सहभागिता रहेको छ । बैठकमा अध्यक्ष तथा महासचिवको साङ्गठनिक प्रतिवेदन पेस हुनेछन् । उद्घाटन सत्र सकिए लगत्तै अहिले बन्द सत्र चलिरहेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले दशकौँको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर क्षतविक्षत हुन पुगेपछि फेरि नयाँ धारमा समाहित हुने उद्देश्यअनुरूप समाजवादी प्रेस सङ्गठन स्थापना गरी सुदृढीकरण अभियानमा लागिएको बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठन, नेपालको केन्द्रीय समिति बनेको पाँच महिनामा सङ्गठनलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेश र केन्द्रीय तहमा सङ्गठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकिएको उहाँको भनाइ छ ।

देशभर १० हजारभन्दा बढी पत्रकार, झन्डै ६०० प्रसारण संस्था, २०० जति मूल प्रवाहका अनलाइन र त्यत्तिकै सङ्ख्यामा सञ्चालित छापा माध्यममा आबद्ध पत्रकारको हकहित, पेसागत सुरक्षा, वृत्ति विकास र सम्मानपूर्ण जीविकाको पक्षमा सङ्गठन क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button