सङ्कटमा दुर्लभ पक्षी चिरकालिज

पर्वत। दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्ष अघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैध रूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो ।
बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिम चेडु चराको नामले चिनिने गरिएको पाइन्छ ।
यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो । नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पक्षी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ । उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोल्र्याङ र चिसापानीलगायतका जङ्गलमा पाइने उहाँले बताउनुभयो ।
सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । उहाँले भन्नुभयो, “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ ।” यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेष गरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
यो पक्षी मुख्य गरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । ठुला–ठुला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “१०–१२ वर्ष अघिसम्म हामी जङ्गल जाने क्रममा सडक छेउछाउँमा भेटिन्थ्यो, तर आजकल देखिँदैन, अरु कालिजभन्दा यो लोपोन्मुख भएर होला ।”
भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरू बताउँछन् । चिरकालिज नेपालमा मुख्य गरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ । पर्वतमा यो कालीगण्डकी नदि, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइएको वन अधिकृत सापकोटाले बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत भए पनि यस क्षेत्रमा यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालयका सहायक प्रमुख केशव पुडासैनीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता खोज तथा अनुसन्धानको काम राष्ट्रियस्तरबाटै सञ्चालन हुन जरुरी देखिन्छ ।”
समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, बासस्थानको संरक्षण तथा वासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने पुडासैनीले बताउनुभयो । उहाँले पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको वन विभागले रैथाने वनस्पति तथा चराचुरुङ्गी एवं कालिज प्रजातिको खोज, अनुसन्धान र संरक्षणका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कालिज प्रजातिको संरक्षणका लागि सरकारले पहल गर्ने योजना बनाएको पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।
संरक्षण गर्नुपर्ने कुन प्रजाति छ त्यसलाई संरक्षण गर्ने र ठूलो सङ्ख्यामा पाइने कालिजलाई व्यावसायिक हिसाबले प्रवर्द्धन गर्ने गरी सुरुमा अध्ययन, अनुसन्धानलाई अघि बढाइएको उहाँको भनाइ छ ।रासस








प्रतिक्रिया राख्नुहोस्