तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको क्याप्टेनको भेषमा लाखौँ ठग्ने पक्राउ 

कास्की । नेपाली सेनाको क्याप्टेन भन्दै लाखौँ ठग्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका   ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा. वडा नं. ५ घर भई जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१० अम्मरसिंह चोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई पक्राउ गरेको कास्की प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका परियारले सामाजिक सञ्जाल फेसबुकमा आफु नेपाली सेनाको क्याप्टेन रहेको र हाल शान्ति सेना मिसनमा कार्यरत रहेको परिचय राखेको भेटिएको छ । 

सेनामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट ९ लाख ७५ हजार भन्दा बढी रकम ठगेको आरोपमा फागुन ३० गते  पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताउनुभयो । 

आफूलाई ‘अर्जुन कटुवाल’का नाममा नेपाली सेनाको रुपमा चिनाउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको आरोप परियार अहिले प्रहरीको फन्डामा परेका हुन् । उनी सिर्जना तामाङ, सरिता खड्का र अर्जुन बस्नेतको जाहेरीका आधारमा फागुन ३० गते पक्राउ परेका हुन् उनले विभिन्न व्यक्तिलाई सिंगापुर पुलिस,विभिन्न सैन्य पदमा भर्ती गराइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारले पीडितबाट आइएमइमार्फत पैसा मगाउँदा भने आफ्नो परिचय खुलाउँथेनन् । उनले त्यसमा आफ्ना नजिकका साथीहरू प्रयोग गर्ने गर्थे । ‘एक ठाउँबाट पैसा आउनुछ । त्यताबाट लिएर मेरो खातामा राख्दे है भन्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा बताउनुहुन्छ  ‘साथीहरूलाई पनि यो ठगी कार्यमा संलग्न छ भन्ने थाहै नहुने स्थिति थियो ।’

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार परियारले आफूलाई क्याप्टेनका रुपमा सबैलाई विश्वास दिलाउन सबै पोसाक तथा तयारी सामान जम्मा गरेका पनि थिए । उनले पीडितलाई विश्वास दिलाउन महँगा खालका नक्कली धातुजन्य गहना लगाएर म्यासेन्जरमा भिडियो कल पनि गर्ने गरेका थिए ।

‘उनीसँग एक जना नेपाली क्याप्टेनका लागि चाहिने सबै सामान थियो । सामान्य तुम्लेटदेखि अन्य आवश्यक पोसाक सबै थियो,’ डिएसपी तिवारीले भने, ‘भर्ना छनोटका लागि चाहिने कागजपत्र समेत उनीसँग थियो ।’

प्रहरीले परियारबाट धनबहादुर परियार नामबाट लिइएको सवारी चालक अनुमति पत्र, अर्जन कटुवालको नामबाट लिइएको एसएलसीका प्रमाणपत्र, प्रेरणा बोर्डिङ स्कुलको चारित्रिक प्रमाणपत्र, नेपाली सेनाको सहसेनानी दर्जाको नक्कली परिचयपत्र, दर्ज्यानी चिन्ह, नामको चेसप्लेट, नेपाली सेनाले प्रयोग गर्ने एक सेट चुस्ता बरामद गरेको छ ।

त्यस्तै, नेपाली सेनाको हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुम्लेट, सेनाको आधिकारिक लोगोसहितको ड्रेस, ट्रयाकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको श्री भर्ना छनोट निर्देशनालय कार्यरथी विभागको जङ्गली अड्डाको उम्मेदवार फारम प्रहरीले बरामद गरेको छ ।

‘२०५६ सालमा काठमाडौँको देवीदत्त गणमा सिपाही पदमा नियुक्त भएर ५ वर्ष सेवा गरेको परियार, त्यसपछि २०६१ सालमा त्यही गण धादिङको गजुरीमा रहेको अवस्थामा भागेको खुलेको छ,’ एसपी थापाले भन्नुभयो, ‘त्यहाँबाट भागेर उनी मलेसिया पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

प्रहरीका अनुसार मलेसियामा कार्यरत रहँदै देखी परियारले ठगी गर्न सुरु गरेका थिए । त्यसै क्रममा उनी २०६३ सालमा नेपाल फर्किएर अर्जुन कटुवालको नामबाट एसएलसीका नक्कली कागजपत्र बनाएका थिए । ‘फेसबुकमा साथी बनाएर आफूचाहिँ शान्ति मिसनमा विदेश रहेको विश्वास दिलाउने, आफन्तलाई जागिर मिलाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ,’ डिएसपी तिवारीले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button