तपाईँ सुन्दै हुनुहुन्छः

मतपेटिका सुरक्षामा सचेत रहन पार्टी पङ्क्तिलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपेटिका सुरक्षामा सचेत रहन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभएको छ । 

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी नेकपा एमालेको पोलिट्ब्यूरो बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले विगतका घटना दोहोरिन सक्ने आशङ्का रहेको बताउनुभयो । 

उहाँले अहिले पनि निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गठबन्धन र आयोगबीच भइरहेको समेत दाबी गर्नुभयो । 

एमाले पोलिटव्यूरो बैठकमा आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट मापदण्ड, घोषणा पत्र तयारी लगायत समसामयिक राजनीतिक परिस्थितबारे  छलफल हुने पोलिटव्यूरो सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा मुख्य गरी चुनावी एजेन्डा, उम्मेदवारको मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल हुनेछ । चुनावी एजेन्डाको तय भने स्थायी कमिटी बैठक बसेपछि मात्रै गर्ने पार्टीको तयारी छ ।

आसन्न निर्वाचनका लागि उम्मेदवारको  टुङ्गो स्थायी कमिटी बैठकले लगाउनेछ । यही चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक र १३ गते स्थायी कमिटीको बैठक बस्न एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button