तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सातौँ कृषि गणना २०७८ को  तयारी सुरु

 चितवन । चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार मङ्गलवारबाट  जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको छ  ।

देशलाई नीति बनाउन सहज होस भन्ने हेतुका साथै नेपालमा कृषिको अवस्था थाहा पाउन पनि कृषि गणना गर्न लागिएको हो । ‘यसबाट समग्र देशको कृषि क्षेत्रको तथ्याङ्क उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्‍याउने उद्देश्य हो, कार्यालयका तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले भन्नुभयो । भण्डारीले देशको कृषिको अवस्था र अनुसन्धानकर्तालाई समेत गणनाले सहयोग पुर्‍याउने बताउनुभयो । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित सङ्घीयता पछिको पहिलो कृषि गणना तयारी अनुसार तथ्याङ्क कार्यालय चितवनको भवनमा नै कार्यालय स्थापना गरिएको तथ्याङ्क अधिकृत  भण्डारीले जानकारी दिनुभयो  ।

उहाँका अनुसार तालिका बमोजिम चैत्र ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय,विज्ञ, कृषि शिक्षण संस्था  तथा कृषकहरू सहितको सचेतना कार्यक्रम गर्न लागिएको छ । केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार चितवनमा कृषि गणनाको लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन् । 

गणनाको लागि चैत्र २५ देखि वैशाख २ सम्म तालिम हुने र वैशाख ६ गते देखि ज्येष्ठको १९ सम्म  आर्थिक गणना हुने भण्डारीले बताउनु भयो   ।

आर्थिक गणनामा लगत एक अनुसार केन्द्रीय तथ्याङ्कले वैज्ञानिककरण विधि बाट गणना क्षेत्र बाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ  । यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरिवेक्षकले कृषक घरपरिवारको  गणनाको छनौट गरिने छ । त्यसपछि लगत दुईमा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्ने हुन्छ । प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल , जग्गाको उपयोग र  उपभोग , स्थायी बाली र अस्थायी बाली , कृषि वन र माटो परिक्षण, सिँचाइ का साथै पशुपक्षीको गणना गरिने उहाँले जानकारी दिनुभयो  । लगत ३ मा सामुदायिक प्रश्नावलीहरू रहनेछन् । तथ्याङ्क पछि कृषि क्षेत्रले  देशको कुल ग्राहस्थ उत्पादनमा दिने  योगदानको परिणाम पनि आउने छ । विस २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ । सङ्घीयतापछिको यो पहिलो गणना हो । गणना  कार्यालय चैत्र १ देखि २०७९ जेठ मसान्तसम्म रहने उहाँले बताउनु भयो   ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button