तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला  । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

स्थानीय सरकार सञ्चालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएसँगै स्थानीय खुसी भएका छन् । 

दुर्गम गाउँबाट बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरी खेला क्षेत्र पर्ने भन्नुहुँदै एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताउनुभयो  । 

सडक पहुँच पुगे पनि निजी गाडीले बिरामी बोक्दा महँगो खर्च तिर्न बाध्यतामा रहेका यहाँका नागरिकलाई पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरी खोला क्षेत्रसँगै तातोपानी बासीलाई राहत भएको उहाँले बताउनुभयो । 

अहिले पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबापत ८ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले जानकारी दिनुभयो । 

विपन्न नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । 

तातोपानी गाउँपालिका ८ वटै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेकोले जटिल परिस्थितिमा एम्बुलेन्स सेवाबाट कोही नागरिक वञ्चित नहुने अपेक्षा गरिएको छ । 

पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेसँगै तातोपानीका नागरिकले घरदैलोमा स्थानीय सरकार पुगेको थप महसुस गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button