तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस धनुषाको नेतृत्वका लागि दोस्रो चरणको मतदान शुरु 

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको  धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान आजबाट शुरु भएको छ । 

दोस्रो चरणको मतदान आज बिहान ८ बजेदेखि हुने भनिए पनि  दुई घण्टा  ढिलो गरी निर्वाचन  शुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिनु भएको छ । जनकपुरधामको  ऐतिहासिक तिरहुतीयगाछीमा कडा सुरक्षाका बीचमा शुरु भएको छ । 

यसअघि पहिलो चरणमा प्रतिस्पर्धा गर्नु भएका तीन जना उम्मेदवार मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव अन्तर्गत मतदान शुरु भएको छ  ।   

उम्मेदवारहरूको सहमति र सहकार्यको निर्णय अनुसार दुई दिन ढिलो गरेर आजको लागि निर्वाचन गरिएको छ । दोस्रो चरणको मतदानमा डा शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पंजियारलाई समर्थन गरिसकेको छ ।

पहिलो चरणको मतदानमा २ हजार ९ सय १२ मत खसेकोमा निधि पक्षका उम्मेदवार योगेन्द्र पजियारले १ हजार २ सय ४८ मत ल्याउनु भएको थियो भने संस्थापन पक्षका सभापतिको उम्मेदवार सन्तोष यादवले ८ सय ८२ ल्याउनु भएको थियो । 

कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले ६ सय ३० मत प्राप्त गरेर तेस्रो  स्थानमा रहनु भएकाले आज पंजियार तथा यादवका बीचमा प्रतिस्पर्धा रहेको छ । साँझ ४ बजेसम्मका लागि मतदान अवधि  तोकिएकामा ढिलो गरी निर्वाचन शुरु भएकाले सोही अनुसार समय थप गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button