तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीपाइले विरुद्धको औषधीमा पारिवारिक कार्ड 

पर्वत । पर्वतमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानमा पारिवारिक कार्ड अनिवार्य गरिएको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेबाट चैत ६ गतेसम्म सञ्चालन हुने भएको छ । 

औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण सङ्क्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँ हात्तीपाइले रोगको जटिल क्षेत्र हुन् । लगातार छ वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यो पटक १३ औँ चरणमा औषधि खुवाउन थालिएको छ । हरेक नागरिकले अनिवार्य रूपमा औषधि खानुपर्ने बाध्यता गराउन ‘पारिवारिक औषधी सेवन कार्ड’ अनिवार्य गरेर औषधि सेवन गराउन लागिएको निमित्त कार्यालय प्रमुख पौडेलले बताउनुभयो । 

व्यक्तिका लागि नभई परिवारका सदस्य सबैको एकमुष्ट कार्ड बन्ने भएका कारण परिवारका कोही एक जनाले मात्रै औषधि सेवन नगरे पनि कार्ड नपाइने पौडेल बताउनुभयो । हरेक वर्ष समस्या देखिएपछि यो वर्ष कडाइका साथ औषधि सेवन गराउन प्रशासनसँग समेत कुरा भइरहेको उहाँको भनाइ छ।औषधि सेवन कार्यक्रमलाई जिल्लाभर नै प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण गर्ने काम रोकिएको छ । 

स्वयंसेविकालाई अटेरी गरेको देखिएका कारण आवश्यक परामर्श सहित स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाउने तयारी रहेको स्वास्थ्य कार्यालयले गरेको छ । पर्वत अस्पतालका चिकित्सक डा. डिबी क्षेत्रीका अनुसार हात्तीपाइलेविरुद्ध खुवाइने औषधिले लुतो, एलर्जी, जुम्रा पर्ने लगायतका समस्याको समेत उपचार गर्ने भएकाले आम नागरिकले ढुक् भएर औषधि सेवन गर्नुपर्ने बताउनुभयो । सार्क राष्ट्रका भारत र नेपालमा हात्तीपाइले समस्या बढी रहेको बताउँदै उनले कुप्रचार र अन्धविश्वासका कारण यो अवस्था आएको बताउनुभयो । 

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो वर्ष जिल्लाका ८४ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष एक लाख ११ हजार ३२५ जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको छ । छ हजार ३८२ जना दुई वर्षमुनिका बालबालिका तथा चार हजार ११६ जना गर्भवती बाहेक अरूलाई लक्षित समूहमा राखिएको छ । औषधि सेवन गराउन करिब तीन सय जना स्वास्थ्यकर्मी र पाँच सय जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button