खेल क्षेत्रका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोख्रेल

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले खेल क्षेत्रको विकासका लागी प्रदेश प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधवार आँधीखोला गाउँपालिका १ सिरुबारी कुर्ले स्थित शिरसुबा गम्भीरसिंह स्मृति कप भलिबल प्रतियोगिताका अवसरमा बोल्नुहुँदै खेलकुद क्षेत्रले नै नेपालको नाम विश्वमा चिनाइरहेका कारण खेल क्षेत्रको विकास गरी खेलाडीहरूलाई स्थापित गर्ने दायित्व सरकारको रहेको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।
मुख्यमन्त्री पोख्रेलले भन्नुभयो,‘खेल क्षेत्र व्यावसायिक बनाउनुपर्छ । खेल क्षेत्रको विकास र खेलाडीको क्षमता विकासका लागी प्रदेशले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढ्नेछ ।’ साथै मुख्यमन्त्री पोख्रेलले डिभी तथा पिआर त्यागेर नेपालमै केही गर्छु भन्ने युवाहरूका लागी प्रदेशले सहयोग गर्ने बताउनुभयो ।
युवाहरूलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नका लागी प्रदेशले प्रदेशले अनुदान समेत दिएको भन्दै वैदेशिक रोजगारीबाट फर्केका तथा नेपालीमै उद्यमी गर्न चाहने युवालाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा सहित पर्वका टिमहरूको सहभागिता छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमले क्रमशः १ लाख, ५० हजार, २५ हजार नगदसहित शिल्ड, मेडल प्रमाण प्राप्त गर्नेछन् ।
फाल्गुन २३ गते प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको थियो । आफ्ना स्व. बुवाआमा शिरसोभा र गम्भीर सिंह गुरुङको स्मृतिमा छोराहरू मेजर लीलबहादुर गुरुङ, देउबहादुर गुरुङ पूर्व डिआइजी हिमबहादुर गुरुङ तथा परिवारले हरेक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आउनुभएको छ । यो प्रतियोगिता १०औँ संस्करण हो ।








प्रतिक्रिया राख्नुहोस्