चार दिनदेखि बेपत्ता वृद्ध जङ्गलमा मृत भेटिए
सल्यान । गत बुधवारदेखि हराइरहेका कपुरकोट गाउँपालिका – २ भकम गाउँका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
६४ वर्षीय मेवालाल नेपाली शनिबार दिउँसो सोही वडाको फुर्केमेल सामुदायिक बनमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दा हराइरहेका नेपाली घरदेखि करिब साढे २ किलोमिटर टाढा पर्ने फुर्केमेल सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाँस काट्न भन्दै घरबाट निस्केका नेपाली बुधवारदेखि हराइरहेको र खोजी गर्ते क्रममा शनिवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकार अर्जुन पौडेलले जानकारी दिनुभयो ।
मृत अवस्थामा भेटिएका नेपालीको शरीरका विभिन्न भागमा चोट लागेको फेला परेपछि घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनुभयो ।
उनको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्