तपाईँ सुन्दै हुनुहुन्छः

खिरौले खानेपानी आयोजनाले ८९ परिवारलाई दिलायो खुसी

सोलुखुम्बु । सोलुखुम्बुको विकट क्षेत्र मानिने महाकुलुङ गाउँपालिका–१ को खिरौले बुङमा खानेपानी आयोजना तयार भएपछि त्यस क्षेत्रका ८९ घरपरिवारमा खुसी छाएको छ । 

नेपाल हिल्फे बोन जर्मन र जर्मन सरकारको लगानीमा इको हिमाल नेपालले आधुनिक प्रविधिको प्रयोग गरी खानेपानी आयोजना निर्माण सम्पन्न पश्चात् उपभोक्तालाई हस्तान्तरण गरेपछि स्थानीय खुसी भएका हुन् । 

स्थानीय लाक्पा शेर्पाले खानेपानीको धारा आफ्नै घरमा पाएपछि खुसी व्यक्त गर्दै भन्नुभयो, “ भनेजस्तै पानीको प्रयोग गर्न पाइने भयो, अब खानेपानीको दुःख सकिएको छ ।”

एक करोड ३३ लाख ५० हजार रुपियाँको लागतमा निर्माण गरिएको खानेपानी योजना उपभोक्तालाई हस्तान्तरण गरिएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । 

एक घर, एक धाराको अवधारणालाई कार्यान्वयन गरिएको आयोजनामा आधुनिक ‘फिल्टर सिस्टम’ र प्रशोधन सिस्टम समेत जडान गरिएको जनाइएको छ । खैरो पानी प्रशोधन सिस्टम नेपालमै नयाँ मानिन्छ । 

खानेपानी सबैको आधारभूत आवश्यकता भएकाले स्वच्छ र सफा खानेपानीको निर्माण गरिएको नेपाल हिल्फे बोन जर्मनका अध्यक्ष नाम्गेल शेर्पाले बताउनुभयो । स्वस्थ रहन सरसफाइका लागि समेत पानीको आवश्यकता हुने उहाँको भनाइ छ । 

शेर्पाको अगुवाइमा संस्थाले त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वस्थ अर्ग्यानिक तरकारी उत्पादन लगायतका क्षेत्रमा दर्जनौँ आयोजना सम्पन्न भएका छन् । आफ्नो गाउँघर आफैँले बनाउनुपर्ने भन्दै आफू खिरौलेलाई नमुना गाउँ बनाउन लागेको उहाँले बताउनुभयो ।

खानेपानी आयोजना हस्तान्तरणका क्रममा महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङले सबैको सहयोग र सहभागितामा दुर्गम क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button