वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक
चितवन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुई देश बीचको स्थानीय स्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो ।
नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाइगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोली र वाल्मीकि टाइगर रिजर्ब फिल्ड डाइरेक्टर डा के नेशमनिले भारतको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।
बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत् छलफल भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“संरक्षणका क्रममा समस्या भएमा तत्काल समाधानका विषयमा छलफल भएको छ ।” दुई देशका अधिकारीकाबीचमा नियमित भौतिक उपस्थितिमा बैठक हुने गरेकोमा कोभिडका कारण दुई वर्षदेखि जुममार्फत् मात्रै हुने गरेको थियो । यस प्रकारका बैठक विगतमा वर्षमा तीन पटकसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा नेपालका तर्फबाट पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का डिभिजन वन कार्यालय प्रमुख, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, जेडएसएल लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधि बैठकमा सहभागी हुनुभएको थियो । भारततर्फका वाल्मीकि टाइगर रिर्जबका डाइरेक्टर डा नेशमनिल, विश्व वन्यजन्तु कोष भारतका रेन्ज अफिसर लगायतको उपस्थिति रहेको थियो ।
एक महिनामा तीन छावा जन्मिए
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन् । गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या चार पुगेको छ ।
केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार कली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामाकरण गरिएको छ ।
यस्तै फागुन १७ गते डम्बर कलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यस अघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन चार महिनाभित्रमा लोकतन्त्र कली र ऐश्वर्यकलीले बच्चा जन्माउने प्रमुख चौधरीले बताउनुभयो ।
प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको उहाँको भनाइ छ । यद्यपि, ध्रुवे र गोविन्दे पनि समय समयमा संसर्गका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये ६ कोसी टप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् । रासस








प्रतिक्रिया राख्नुहोस्