पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको तयारी पुरा

काठमाडौँ । भोलि (मङ्गलवार) महाशिवरात्रि पर्व: भगवान् शिवको पूजा आराधना गरी मनाइने यस पर्वको आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोरोना सङ्क्रमणको त्रासका कारण विगत दुई वर्षदेखि राम्रोसँग मनाउन नपाइएको महाशिवरात्रि पर्व यस पटक भने धूमधामका साथ मनाउने तयारी गरिएको छ ।
महाशिवरात्रि पर्व मनाउनका लागि देश तथा विदेशबाट समेत साधु सन्त एवं भक्तजनहरू पशुपतिनाथ मन्दिरमा आउने क्रम जारी छ ।
विशेष गरी धेरैजसो भक्तजनहरू भारतबाट आउने गरेको र यस पटक ५० हजारभन्दा बढी साधु सन्त एवं भक्तजनहरू आउने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
दुई वर्षदेखि कोरोनाको त्रासका कारण सहज तरीकाले मनाउन नपाइएको महाशिवरात्रि पर्व यस पटक कोरोना संक्रमण कम भएसँगै विशेष उत्साहका साथ मनाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि चार वटा लाइनबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको र लाइनमा बसिसकेपछि करिब १ घण्टामा दर्शन गरिसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिरको साजसज्जा, लाइटिङको व्यवस्था एवं भित्ताहरूमा बनाइएका भगवानका चित्रहरू यस पटकको महाशिवरात्रि पर्वको मुख्य आकर्षण रहेका छन् ।
त्यस्तै, भिडभाडका कारण हुनसक्ने असुरक्षालाई मध्यनजर गरी १० हजारभन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको छ भने ५ देखि ७ हजारको सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सांस्कृतिक विधान अनुसार पनि भगवान् शिवको प्रिय रात्रिको रुपमा परिचित महाशिवरात्रिमा विकृति र विसङ्गति त्यागेर सद्भावले व्रत बस्ने हो भने व्रतको प्रत्यक्ष फल प्राप्त गर्न सकिने धार्मिक मानयता रहिआएको छ ।
सरकारका विभिन्न सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, लगायतका सुरक्षाकर्मीहरू पशुपतिनाथ मन्दिरमा सुरक्षाका लागि व्यवस्था मिलाइएको छ । तीमध्ये नेपाल प्रहरीबाट मात्रै वरिष्ठ प्रहरी उपरीक्षकको कमाण्डमा महिला तथा पुरुष सुरक्षाकर्मी गरी झन्डै ३ हजार ५ सय जना खटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई कुनै पनि समस्या नपरोस् भनेर खाना, स्वास्थ्य शिविर, फोहोरको व्यवस्थापन लगायतका सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
छिमेकी राष्ट्र भारतबाट भक्तजनका साथै केही विशिष्ट पाहुनाहरू समेत आउने कार्यक्रम रहेकाले यसबाट आगामी दिनमा भारतीय पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्ति पूर्वक पूजा–आराधना गर्ने प्रचलन रहेको छ । सांस्कृतिक विधान अनुसार पनि भगवान् शिवको प्रिय रात्रिको रुपमा परिचित महाशिवरात्रिमा विकृति र विसङ्गति त्यागेर सद्भावले व्रत बस्ने हो भने व्रतको प्रत्यक्ष फल प्राप्त गर्न सकिने धार्मिक मानयता रहिआएको छ । यस अवसरमा काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर लगायत देशैभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्