‘स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कानुन व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शासन, संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कानुन व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
नेपाल बार एसोसिएसनले आजदेखि काठमाडौँमा सुरु भएको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले न्यायमा जनताको पहुँच पुर्याउन कानुन व्यवसायीको उल्लेखनीय भूमिका रहने बताउनुभयो ।

उहाँले कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसन आफू पनि स्वतन्त्र रहँदै स्वतन्त्र न्यायपालिका, विधिको शासन र शक्ति पृथकीकरणजस्ता महत्त्वपूर्ण विषयमा पैरवी गर्ने संस्थाको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति भण्डारीले दक्ष कानुन व्यवसायी र न्यायपालिकाबाट आउने व्याख्या र प्रतिपादित सिद्धान्तहरूले संविधानवाद र लोकतान्त्रिक संस्थाहरूलाई समृद्ध बनाउँदै लैजाने समेत बताउनुभयो ।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीले न्यायपालिकालाई भरोसायुक्त र आम नागरिकले विश्वास गर्न सक्ने बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।
उहाँले न्यायपालिकाप्रति नागरिकका आशङ्का र असन्तुष्टिहरूको निराकरण गरी भरोसायुक्त न्याय प्रणालीको स्थापनाका लागि गम्भीर ढङ्गले आत्मसमीक्षा गर्नु पर्ने पनि बताउनुभयो ।
महान्यायाधिवक्ता खम्वबहादुर खातीले न्याय प्रणालीलाई भरोसायुक्त बनाउँदै लैजान सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनलाई कार्यान्वयनमा जोड दिनुभयो ।
उहाँले बार र बेन्चको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी न्याय प्रणालीको विकास गर्न र सर्वोच्चको अन्तरिम आदेशका सम्बन्धमा आवश्यक कार्यविधि तयार गर्न सान्दर्भिक हुने समेत बताउनुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारको आन्दोलन जारी नै रहेको बताउँदै सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू शम्भु थापा, हरिहर दाहाल, विश्वकान्त मैनाली, प्रेम बहादुर खड्का, शेर बहादुर केसी लगायतले विधिको शासन, संवैधानिक सर्वोच्चता स्वतन्त्र न्यायपालिकाको पक्षमा कानुन व्यवसायीहरू एकताबद्ध रहेको भन्दै न्याय क्षेत्रका विकृति विसङ्गति विरुद्ध आफूहरूको आन्दोलन निरन्तर जारी रहने बताउनुभयो ।
नेपाल बार एसोसिएसनले ९६ वर्षीय वरिष्ठ अधिवक्ता एवम् पूर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई कानुन वाङ्मय शताब्दी पुरुषका रुपमा सम्मान गर्दै रथयात्रा गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्