तपाईँ सुन्दै हुनुहुन्छः

जनभावना अनुरूप काम गरेर सरकार अघि बढिरहेको छ : मुख्यमन्त्री भट्ट

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनभावना अनुरूप काम गरेर सरकार अघि बढिरहेको बताउनुभएको छ ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रदेश मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित विशेष समारोहमा उहाँले प्रदेश सरकारले विकास र समृद्धिलाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सङ्घीयता लागू भएको पाँच बर्ष नपुग्दै यसको आवश्यकता छैन भनेर चर्चा परिचर्चा चल्नु दुखद भएको टिप्पणी गर्नुभयो । उहाँले साझा अधिकार कानुन कार्यान्वयन नहुँदा प्रहरी समायोजन, कर्मचारी भर्ना जस्ता कार्य गर्न अप्ठ्यारो भएको बताउनुभयो ।

संविधानले एकल र साझा अधिकार दिएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेश मन्त्रालयमा पठाउने उच्च पदस्थ कर्मचारीमा सङ्घीय सरकारले मनलाग्दी गरेको बताउनुभयो। 

विकासमा सुदूरपश्चिम प्रदेश विगत देखि नै पछाडि पारिएको स्मरण गर्दै मुख्यमन्त्री भट्टले स्रोत साधनको अभावमा प्राकृतिक स्रोत र साधनलाई परिचालन गर्न नसकिएको बताउनुभयो ।

“हामी सबैले एकात्मक सोचले काम गरिरहेका छौ, अब त्यसको अन्त्य नगरी आम नागरिकलाई प्रभावकारी सेवा सुविधा दिन सक्दैनौ” उहाँले भन्नुभयो ।

समारोहमा सभामुख, मन्त्रीगण, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा विभिन्न भेषभूषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button