तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो

तम्घास। गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए । पूर्व मन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गर्नुभएको छ ।

दर्लिङ–३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घरअगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटवल, पाल्पा, तम्घासलगायतका ठाउँबाट हिँडेरै नुन, तेललगायतका सामग्री बोकेका उहाँले बिहीबार आफ्नै गाउँमा बस देख्नुभयो । “गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ”, खड्काले भन्नुभयो, “आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।”

गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उहाँले सम्झिनुभयो । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्र्याक्टरमात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उहाँले बताउनुभयो ।

सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताउनुभयो । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उहाँले अपेक्षा गर्नुभयो । “गाउँमा आए पनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा रु दुई हजारसम्म खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो, “बसमा अब भाडा पनि सस्तो होला ।” आफू बस हेर्नकै लागि कार्यक्रम स्थलमा आएको उहाँले सुनाउनुभयो ।

नियमित सञ्चालन गर्न चुनौती

बसले मुख्यतः गाउँपालिकाको वडा नं १ नेटा, वडा नं २ ह्वाङ्दी र वडा नं ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । सदरमुकाम तम्घासबाट दर्लिङसम्म ४५ किलोमिटर दूरी पर्छ । हिउँदको समयमा सडक राम्रै हुने भए पनि वर्षायाममा भने सञ्चालन गर्न चुनौती छ । वर्षायाममा अधिकांश ठाउँमा पहिरो जाने भएकाले नियमित बस सेवा सञ्चालन हुनेमा स्थानीयले शङ्का गरेका छन् । “जीप पनि बाह्रै महिना सञ्चालन भएको छैन, सडकले साह्रै दुःख दिएको छ”, स्थानीय ४८ वर्षीय चन्द्रवती घर्तीले भन्नुभयो, “सडकको नियमितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्छ ।” सडक बिग्रिएको अवस्थामा जीपमा पनि महँगो भाडा तिर्नुपरेको उहाँले सुनाउनुभयो ।

लेन्थवर्करको व्यवस्था

गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले गाउँपालिकाका अन्य पाँच वडामा पहिले नै बस पुगेको बताउनुभयो । बस सेवालाई दर्लिङबाट बुटवलसम्म आवतजावत गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका साथै पालिकामा उत्पादन भएका कृषिजन्य सामग्रीको निर्यात हुने तथा नागरिक सस्तो भाडामा गन्तव्यमा पुग्ने उहाँले बताउनुभयो । नियमित सडक सञ्चालनका लागि गाउँपालिकाले डोजर र लेन्थवर्करको व्यवस्था गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button