एउटै गाउँबाट ५ करोडको सुन्तला बिक्री

पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करिब रु ५ करोडका सुन्तला विक्री गरेका छन् । सुन्तलाका पकेट क्षेत्र बाँसखर्कमा अनुकूल मौसमका कारण यस वर्ष सुन्तला खेती फस्टाएको हो ।
व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सय भन्दा बढी परिवारले सुन्तला विक्रीबाट गाउँमा ५ करोड भित्राएको स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त गाउँमा गत वर्ष रु ३ करोड भित्रिएको थियो । यहाँको सुन्तला स्थानीय बजारमा मात्रै नभएर पोखरा, मुग्लीन र नारायणगढ लगायतका बजारमा समेत पुग्ने गरेको छ ।
किसानहरूले धान, कोदो र मकै भन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीको रुपमा लिँदै आएका छन् । न्यूनतम पाँच लाख रुपैयाँ भन्दा थोरै कमाउने कुनै घरै छैनन् । बढीमा १९ लाख सम्म आम्दानी गर्ने परिवार समेत रहेका छन् । खत्रीले आफूले यस वर्ष झण्डै १३ लाख रुपैयाँ आम्दानी गरेको सुनाउनुभयो ।
यो गाउँमा सबैभन्दा बढी सुन्तला भक्तबहादुर पाइजाले बिक्री गर्नुहुन्छ । उहाँले यस वर्ष झण्डै १६ लाख आम्दानी गर्ने बताउनुभयो । सुन्तलाको कमाइले बजारमा घर घडेरी नजोडेका निकै कम छन् ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्ष अघि ६७ लाख खर्चिएर शीत भण्डार केन्द्र सञ्चालन गरिएको छ । शीत भण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताउनुभयो । तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाई छ ।
सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनी क्षेत्रफल विस्तार हुँदै आएको छ । विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ । सिङ्गो गाउँ नै पहेलपुर बनेको छ । माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैँचामा पनि व्यवसायीहरू आफै गएर टिप्न थालेको स्थानीय यामबहादुर गर्बुजाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्