तपाईँ सुन्दै हुनुहुन्छः

गोठाला र सहयोगीका भरमा जुम्लाका अनुसन्धान केन्द्र

जुम्ला । जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् ।

वर्षौँदेखि वैज्ञानिक सहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।

कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र विजयनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौँदेखि वैज्ञानिक विहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने राज्यको करोडौँ बजेट लगानी गरे पनि अनुसन्धानको उपलब्धि शून्य देखिएको छ ।

२०२८ सालमा राजा महेन्द्रले स्थापना गरेको भेडाबाख्रा अनुसन्धान केन्द्रको ५ दशकमा खासै उपलब्धि छैन । नयाँ भेडासँग स्थानीय जातको भेडा क्रस गरी उन्नत जातको भेडा उत्पादन गर्ने, उत्पादित भेडा देशभर बिक्री गर्ने लक्ष्य भए पनि वैज्ञानिक अभावले भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाहरूले धानेका छन् ।

गोठाला नरबहादुर बोहोरा, जयप्रसाद बोहोरा र हरि बुढाले भेडाबाख्रा अनुसन्धान केन्द्रलाई सम्हाल्नुभएको छ । दक्ष जनशक्ति अभावले अनुसन्धान ठप्प हुँदा भेडाको रेखदेख गर्ने, दानापानी गर्ने काम गोठालाकै काँधमा छ ।

भेडाबाख्रा अनुसन्धान केन्द्रमा ३ जना वैज्ञानिकको दरबन्दी हो । तर एक जना मात्रै कार्यरत छन् । कार्यरत वैज्ञानिक डा.रमेश शाहले भन्नुभयो,“तीन जना वैज्ञानिकको दरबन्दी भए पनि म मात्रै छु । ३ जना प्राविधिक अधिकृत हुनुपर्ने १ जना पनि छैनन् । २२ जनाको दरबन्दीमा ८ जना मात्रै कार्यरत छौ । विशेष गरी प्राविधिक अधिकृत र वैज्ञानिक नहुँदा अनुसन्धान ठप्प छ ।”

त्यस्तै उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि कर्मचारी विहीन छ । भेडाबाख्रा अनुसन्धान केन्द्रकै वैज्ञानिक रमेश शाहले उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि सम्हालेका छन् । ३ जना वैज्ञानिक सहित १८ जनाको दरबन्दी भए पनि उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र हाल सम्म कर्मचारी विहीन अवस्थामा छ ।

साथै कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) विजयनगरले यहाँको उन्नत जातको धान, सिमि लगायतका बालीमा अनुसन्धान गर्छ । त्यहाँ पनि वैज्ञानिक अभावले सिमि र धानको भइरहेको अनुसन्धान प्रभावित भएको छ । जम्मा दरबन्दी १८ जना रहेकोमा ११ जना कार्यरतमध्ये ५ जना त कार्यालय सहयोगी मात्रै छन् । १ जना वैज्ञानिक हुनुपर्ने छैनन्, कृषि अनुसन्धान प्रतिष्ठान(नार्क) कर्मचारी भन्दा कार्यालय सहयोगीहरूले धानेका छन् ।

उता कृषि अनुसन्धान केन्द्र राजिकोटले विशेष गरी आलु लगायतका तरकारी बालीको अनुसन्धान गरी उन्नत जात बजारमा ल्याउने काम गर्छ । तर त्यहाँ एक जना वैज्ञानिक राजकुमारी गिरीले मुस्किलले कार्यालय चलाए पनि अनुसन्धान ठप्प छ ।

कानुनी अड्चनका कारण विगत पाँच वर्षदेखि वैज्ञानिक नियुक्ति प्रक्रिया रोकिएको वैज्ञानिक रमेश शाहको भनाइ छ । पटक पटक माग गर्दा पनि सुनुवाइ नभएर अनुसन्धान प्रभावित भएको दुखेसो उहाँको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले वैज्ञानिक बिनाका अनुसन्धान केन्द्रले अपेक्षित नतिजा दिन नसक्ने भएकाले समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button